नौमती बाजा घन्काउँदै आमा समूह
म्याग्दी | पुस २४, २०७९
म्याग्दी: गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ।
बेनी नगरपालिका–४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ। सो समूहका महिला नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैँले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन्। गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका कार्यमा उनै आमाहरू वाद्यवादनका सामग्री बोकेर पुग्छन्।
विवाह, व्रतबन्ध, धार्मिक कार्य र विभिन्न सभा समारोहमा प्रयोग गरिने नौमती बाजाको संरक्षणमा यहाँका आमाहरू जुट्न थालेका छन्। परम्परागत नौमती बाजा संरक्षणका साथै आमाहरूले राम्रो आम्दानीको स्रोत पनि बन्न थालेको छ।
नौमती बाजा बजाउन तीन वर्षअघि एक महिनाको तालिम लिएपछि आमाहरूले नौमती बाजा बजाउन पोख्त भएका हुन्। आमाहरूले नौमती बाजा संरक्षणका लागि नवजागरण आमा समूह गठन गरेका छन्। समाजमा हुने विवाह, व्रतबन्ध तथा धार्मिक कार्य र बेनीमा आयोजना हुने विभिन्न कार्यक्रममा आमाहरूको नौमती बाजा नै पहिलो प्राथमिकतामा पर्छ। “सुरु–सुरुमा कर्नाल फुक्न कठिन थियो,” नौमती बाजा समूहकी माया शर्माले भन्नुभयो, “अहिले त राम्रोसँग कर्नाल फुक्न सक्ने भएकी छु। कर्नल फुक्न थालेपछि आजभोलि गाउँघरमा कर्नाले आमाको पहिचान बनेको छ।” विष्णु रसाइलीले नरसिङ्गा बजाउनुहुन्छ भने रुक्सना रुचाल ट्याम्को बजाउन सिपालु हुनुहुन्छ।
“बजाउँदा बजाउँदै अहिले त सिपालु भएको छु,” ट्याम्को बजाउने रुक्सनाले भन्नुभयो, “बाजामा नाच्नेहरूले लामो ताल लगाउँदा अलि कठिन हुन्छ। छोटो–छोटो तालमा त सजिलै बजाउन सक्ने भएकी छु।” “नौमती बाजा हाम्रो परम्परागत कला र संस्कृति हो, यसको संरक्षणमा पुरुषले चासो नदेखाएपछि हामी महिला जुटेका हौँ,” विष्णु रसाइलीले भन्नुभयो, “सिजनका समयमा भ्याइनभ्याइ हुन्छ। सबैतिरबाट माग आउने गर्छ।”
तीन वर्षअघि वडा कार्यालयले आमाहरूलाई एक महिने नौमती बाजासम्बन्धी तालिम दिएको थियो। तालिम पाएपछि आमाहरू अहिले नौमती बाजा बजाउन सिपालु भएका छन्। म्याग्दीमा मात्र होइन, आमाहरू बाजा बोकेर छिमेकी जिल्ला पर्वत, बागलुङ र ठूला सहर पोखराका साथै राजधानीसम्म पुग्ने गरेका छन्।
“विवाह, व्रतबन्ध र चौरासी पूजाको सिजनमा म्याग्दीका साथै ठूला सहरबाट पनि माग आउन थालेको छ,” नवजागरण आमाकी अध्यक्ष लक्ष्मी खत्रीले भन्नुभयो, “समाजमा नौमती बाजा लोप हुँदै जान थालेकाले हाम्रो पुरानो कला र संस्कृतिको संरक्षणमा आमाहरू जुटेका हौँ। समूहमा १० जना महिला छौँ, सबै जना बजाउन सक्ने भएका छौँ। हाम्रो बाजा बजाउने सीप देखेर टाढा–टाढाबाट पनि माग आउने गरेको छ।” हाम्रो यो अभियानमा घरपरिवारबाट पनि साथ सहयोग मिलेको छ, उहाँ बताउनुहुन्छ।
“जिल्लाभित्र १५ देखि २० हजारसम्म र बाहिर जानु परे ३० देखि ४० हजार रुपियाँसम्म समूहले दररेट तोकेको छ,” आमा समूहकी अध्यक्ष खत्रीले भन्नुभयो, “बाजा बजाएबापतको आधा रकम कोषमा राख्छौँ र आधा समूहका सदस्यले बाढेर लिने गरेका छौँ।” कोषमा जम्मा भएको रकम बाजा मर्मत सम्भार र नयाँ खरिद गर्न प्रयोग गरिने खत्रीको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

